दुगुना गढीको यात्रा, जुकाको जात्रा
लौ, कसरी हाँस्छ? के देखेर हाँसेको यो? यार्मासिङ़को उकालो चढ्दै गर्दा एउटी बुढी आमैले मलाई हेरेर मुसुक्क हाँस्दै भनिन्। मलाई उनको व्यवहार कस्तो कस्तो आफ्नै आबै जस्तो लाग्यो, आबैलाई नभेटेको धेरै भईसकेको थियो, अलि अलि भएपनि निरस मेटियो।
हामी भन्दा केहि अगाडि, उपचारको लागि काठमाडौ गएर आफ्नो गुम्वा फर्किदै गरेकी, एउटी आनी थिईन्, विवेक र म सँग-सँगै थियौं, ज्वलन्त चाँहि फोटो खिच्दा अलि पछि परेकोले हामीलाई भेटाउन लामा लामा पाईला सार्दै थियो। ज्वलन्तको पछि पछि माथ्लो गाउँबाट अरक (शेर्पा भाषामा रक्सी)ल्याउन फुरुङ्ग पर्दै हिंडेका, ठुल्ठुला खाली जर्किन बोकेका, केटाकेटीहरु थिए।
हाम्रो गन्तव्य थियो – दुगुना गढी । नेपाल-चीन सिमाना नजिकै, सिन्धुपाल्चोक जिल्लाको तातोपानी गा वि स मा रहेको सो गढी ले नेपालको इतिहासको एउटा महत्वपूर्ण हिस्सा बोकेको छ। बिभिन्न समयमा नेपाल-तिब्बतबिच भएका लडाईंहरुमा नेपालको सेनाले यो गढीको प्रयोग गरेको थियो। त्यहाँ भएको एउटा शिलालेखमा (तश्विर तल) जङ्गबहादुर कुँवरको नाम छ।
तर हामी कुनै ऐतिहासिक खोजको लागि त्यहाँ गएका चाँहि हैनौ। ऐतिहासिक खोजीको कुरा गर्दा मेरो आफ्नै गाउँको नजिकै रहेको एउटा गढीको सम्झना आयो – जसको मैले कतै उल्लेख भएको पाएको छैन। हामी काठमाडौंको होहल्ला र अस्तब्यस्तताबाट केहि बेरको लागि भएपनि छुटकरा पाउने गरि एउटा रमाईलो पैदल यात्राको खोजीमा थियौं।
अघिल्लो राती आइ-आर-सी मा गफगर्दै गर्दा ज्वलन्तले “ईन-टू-द-वाइल्ड” को क्रिस मक्यान्डलिसका शब्दहरु लेख्दै थियो, “सोस्साईटी, सोस्साईटी, गेटिङ आउट अफ दिस सीक सोस्साईटी”। तर हाम्रो यात्रा क्रिसको जस्तो भने थिएन, हामी मात्र दुई दिनको लागि काठमाडौं छाड्दै थियौं।
काठमाडौंबाट बाह्रबिसेसम्मको ५ घण्टाको बसयात्रा अनि बाह्रबिसेदेखि १०८ किलो(अरनिको राजमार्गको काठमाडौंबाट १०८ किलोमिटर)सम्मको छतयात्रापछि झोलुङ्गे पुलबाट भोटेकोशी तरेर हामी उकालो लागेका थियौं। हामीलाई बसबाट ओर्लेर उकालो लाग्ने ठाउँ (१०८ किलो) भेट्टाउन चाहिँ साच्चै गाह्रो भएको थियो।
बिहान पुरानो बसपार्कमा गएर तातोपानी, बाह्रबिसेतिर जाने बसको टिकट काउन्टर, बसवालाहरु, खलासीहरु सबैलाई सोध्यौं तर काम लागेन। मात्र यो ब्लगकै आधारमा हामी हिंडेका थियौं। बाह्रबिसे जाने बसको खलासीले, “१०८ किलो त बाह्रबिसे भन्दा केहि वरै पर्छ,” भनेकाले हामी उसकै बसमा चढ्यौं। पछि मात्रै थाहा पाईयो, १०८ किलो त बाह्रबिसे भन्दा अझ २१ किलोमिटर अगाडि पो रैछ अनि त्यो ठाउँलाई त्यतातिर सजिलोको लागि ८ किलो (१०८ को सट्टा) भनिंदो रहेछ। “भाईहरु कहाँबाट आउनुभयो, म चाहिँ यहिंको भएर पनि अझै त्यहाँ पुगेको छैन,” बाह्रबिसेबाट लिपिङ(नेपाल-चीन सिमाना) जाने बसको छतमा भेटिएका एक स्थानियबासीले भने। उनिबाट हामीले त्यताको बारेमा धेरै कुराहरु थाहा पायौं।
बस टन्न भरी थियो, हामी बाह्रबिसेबाट हिंड्दा छतमा मात्रै कम्तिमा ४० जना थियौं। जब अलि अप्ठ्यारो बाटो आउथ्यो, खलासी तलबाट चिच्याउँथ्यो, “अलि बिच्चमा बस्नुस है, बिच्चमा”। साच्चै त्यतिबेला मैले गौशाला चोकमा ट्राफिक प्रहरीले राखेको विज्ञापनको “यमलोक यात्रा सेवा”लेखेको बस झल्झली सम्झिराखेको थिएँ।
तर छर्लङ्गै देखिने गरि केहि तल गर्जिंदै बगिरहेको भोटेकोशी अनि आफैमाथि खस्ने पो हुन् कि जस्ता अग्ला अग्ला झरना हेर्नको मज्जा बसभित्रबाट कहाँ पाउनु?
झोलुङ्गे पुल तरिसकेपछि किन किन अर्कै दुनियाँमा पुगे जस्तै लाग्यो।
बाटोमा भेटिएको पानी घट्टला ई चलाउन खोज्दा पाईप फुस्किएपछि जोड्नै सकिएन, के गर्नु त्यत्तिकै छोडेर उकालो लाग्यौं। हामी अर्को दिन बिहान फर्किंदा घट्ट मालिकले त्यो पाईप जोड्दै थिए। उकालोमा जस्ले भेटे पनि “कहाँ पुग्ने हो?”, “कहाँबाट हो?” भनेर चाँहि सोधिहाल्ने। हामीलाई केहि हतार थिएन, साँझ पर्दासम्म गढी घुमिसकेर कतै बास खोज्न पाए पुग्यो। त्यसैले हामी गाउँलेहरुसँग गफ गर्दै, बिच बिचमा थकाई मार्दै हिड्यौं।
ए, मैले एउटा कुरा त लेख्नै बिर्सेको, बाह्रबिसे जाने बसमा एउटी आनी छेवैको सिटमा थिईन्, हाम्रो गफ रमाइलो लागेर होला, उनले हामीलाई निक्कै ध्यान दिइराखेकी थिइन्। बाह्रबिसे ओर्लेपछि हामी १०८ किलोको चक्करमा लाग्यौं उनी कता लागिन हाम्रो चिन्ताको कुरो भएन, एक्कासी यार्मासिङको उकालोमा पो टुप्लुक्क भेट्टिइन्। त्यहाँबाट हिडेर पुग्न सिङ्गै एक दिन लाग्ने ठाउँको गुम्बामा बस्ने ती आनी काठमाडौं उपचारको लागि आएकी रहिछन्। उनि भन्दै थिइन् “आज यतै माथितिर बास बस्नु पर्छ, अनि भोलि दिनभरि हिडेपछि गुम्बामा पुगिन्छ।” बाटोमा उनले कर गरेरै हामीलाई नासपाती खान दिईन। उनी काठमाडौंदेखि गढीसम्म लगभग सँगै भएकाले उनको बारे यत्ति कुरा चाँहि लेख्न मन लाग्यो।
भूमिचौर स्कुल मास्तिरको चिया पसलमा बसेका एकजना दाईले पो हँसाए त, “दाई यतातिर कत्तिको जुका लाग्छ?” भनेर सोध्दा, “लाग्दैन, लाग्दैन, केहि चिन्तै मान्न पर्दैन, अलि अलि कमिलाले चाँहि टोक्ला” पो भन्छन् बा। अलि माथि पुगेपछि त जुकाले जात्रा देखाउन थालि हाले नि! पैतालादेखि घाँटीसम्म जुकाकै हैकम्। आनीले दिएको नासपाती खाउन्जेलसम्म पनि केटाहरु जुका छल्न यता र उता फ्याट्ट-फ्याट्ट उफ्रिदै थिए।
बिस्तारै हिडेकाले गढी पुग्न हामीलाई लगभग दुई घण्टा लाग्यो। त्यताबाट गाई चराएर फर्किदै गरेका गोठालाहरुले भन्दै थिए, “त्यता केहि छैन दाई, दुइटा गढी छन् त्यहि हो, जुका चै टन्नै लाग्छ है त्यता।” चरेर आएका गाई र बाख्राका, कसैका घाँटी त कसैका खुरबाट रगत बगिरहेका देखेरै थाहा हुन्थ्यो जमानामा जङ्गबहादुरले सम्हालेको किल्लालाई अहिले अरु कसैले महत्व नदिएपनि त्यहाँका जुकाहरुले आफुसक्दो सुरक्षा दिइरहेका छन्। सिमसिम पानी परिरहेकाले पनि जुका धेरै सल्बलाएका होलान्, आतङ्कै मच्चाए नि जुकाले त्यत्तिकै मैले शिर्शकमै “जुकाको जात्रा” लेखेको हैन।
माथी पुगिसकेपछि हामीले दुवै गढीहरुका भग्नावशेषहरु, एकापट्टिबाट सिधै तल देखिने भोटेकोशी, अर्कोपट्टिबाट मकैबारीले सजिएको यार्मासिङ गाउँ र कुहिरो हट्दा देखिने तिब्बतको खासा बजार हेर्यौ, केहि फोटोहरु खिच्यौं। त्यहाँ गढीभित्र छिर्ने पर्खालको पत्रे द्वारको डिजाईन चाँहि गज्जबको रहेछ। तल्लो गढीको छेउमा एउटा गज्जबको एन्टेना थियो (पुरानो हैन), त्यसको प्रयोजन चाँहि के हो कुन्नि खै।
केहि बेर त्यहाँ बिताएपछि खुट्टा देखि घाँटीसम्म लागेका जुका फाल्दै हामी खाने र बस्ने ठाउँको खोजिमा ओरालो लाग्यौं। विहान पुरानो बसपार्कमा अण्डा, आलु र चिया, बाह्रबिसेको हिमशृङ्खला(भिमसेनगोला) होटेलको दाल-भात, उकालोको एउटा पसलमा पाईएको चिनियाँ कोक, आनीले दिएको नासपाती बाहेक हामीले केहि खाएका थिएनौं, त्यसैले हाम्रो पहिलो खोजि थियो – खानेकुरा।
मैले यो लेख्न शुरु गर्नुको मुख्य कारण एकजना शेर्पा दाई हुन् जसकोमा हामी त्यो दिन फर्केर बास बसेका थियौं। धेरै कुरा एकैपटक कति लैख्नु, यत्ति लेख्न त कत्रो महाभारत भयो, कहिले के कहिले के, धेरैजसो त ईन्टरनेट स्पीडकै समस्या। ती दाईको कुरा र दुगुना गढीबाट फर्किंदाको कथा-व्यथा चाँहि अर्को पटकको लागि थाति….
अति नै राम्रो, यो ब्लग सधैं नेपालीमै रहोस् भन्ने कामना गर्छु। शेर्पा दाइका गफगाफ छिट्टै पुन: स्मरण हुने अपेक्षामा पनि छु। शेर्पा दाइको सत्कार अनि सहयोगी व्यवहार साँच्चै नै हाम्रो नेपालीपनको धमिलिएको छविप्रति कडा प्रहार थियो है.. काठमाडौंको कोलाहलबाट रन्थनिएर “गेटिङ आउट अफ दिस सीक सोस्साईटी” भन्दै सुरु भएको हाम्रो यात्रा एउटा साँच्चैको “रियल सोसाइटी”मा पुगेर टुङ्गिएको थियो। मेरो अहिलेसम्मको सबैभन्दा स्मरणीय यात्रामा परेको छ यो यात्रा।
ज्वलन्त
August 24, 2008 at 6:51 am
[...] more about it in Shankar’s and Jwalanta’s blogs. See the pictures [...]
These four months « Bibek Paudel’s weblog
August 31, 2008 at 10:40 pm
[...] अगाडिको कोठामा गएर सुते। ज्वलन्तले अघिल्लो पोष्टको प्रतिक्रियामा लेखे जस्तै शेर्पा [...]
शेर्पा दाइको आतिथ्य - अझै छन् चोखा मनहरू « शङ्करको पौवा
October 31, 2008 at 12:10 am
[...] अगाडिको कोठामा गएर सुते। ज्वलन्तले अघिल्लो पोष्टको प्रतिक्रियामा लेखे जस्तै शेर्पा [...]
शेर्पा दाइको आतिथ्य सत्कार भन्छ अझै छन् चोखा मनहरू « शङ्करको पौवा
October 31, 2008 at 12:22 am