कैलाश पर्वत

एतदस्ति यद्यद्भवति

“अन्तर्मनको यात्रा” पढिसकेपछि

with 8 comments

हिजो मैले जगदीश घिमिरेको “अन्तर्मनको यात्रा (आत्मालाप)” पढेर सकेँ, जसका लागि घिमिरेले २०६४ को मदन पुरस्कार तथा उत्तम शान्ति पुरस्कार पाएका थिए। वि सं २०६४ को चैत २८ गते (लेखकको जन्मदिन) प्रथम प्रकाशनमा आएको यो कृतिको मैले २०६५ आश्विनमा निस्केको सातौँ सँस्करण पढेको हुँ। कृतिको वारेमा कृष्णमुरारी भण्डारीले “बेला-बेलामा करेन्ट लागेको जस्तो झड्का लाग्छ”भनेका छन्। यसले मलाई पनि कैयौँ ठाउँमा अडिएर सोच्न लगायो। ती मध्ये केहि कुराहरू यी हुन्:

  • लेखक पत्नी दुर्गा घिमिरेले कृतिको वारेमा यस्तो लेखेकी छन्: “जगदीशले यो कृति मेरा आँसुका मसीले लेखेका हुन्।”
  • पृ ३४ – “सबै सूचकहरू भन्छन् – नेपालको पतन हुनाको पहिलो कारण नेताहरूको भ्रष्टाचार र दोस्रो कारण रक्सी हो।”
  • पृ ४४ – “मलाई धेरै पछिसम्म पनि यो थाहा भएन कि नेपालमा यौटा मात्र कर्म थियो र छ। त्यो हो चाकरी।”
  • पृ ४५ – “विल्हणको श्लोकको भरतराज पन्तको अनुवाद: पस्ने र निस्कने गर्छन् राजाको द्वारको भग। विद्वान जन लिङ्गजस्ता छन् अण्ड जस्तै छ विल्हण।।”
  • पृ ६३ – “यू जी कृष्णमूर्तिसम्बन्धी केही पुस्तकमा यस्तो सूचना हुन्छ: ‘मेरो उपदेश – तिमी यही शब्द प्रयोग गर्न चाहन्छौ भने – को कुनै सर्वाधिकार छैन। मेरो वा अरु कसैको स्वीकृतिविना नै कसैले पनि यसलाई पुनरुत्पादन गर्न, वितरण गर्न, व्याख्या गर्न, अपव्याख्या गर्न, बिगार्न, नबुझिने पार्न, जे मन लाग्यो गर्न, लेखकीय स्वामित्वसमेत दावा गर्नसक्ने छ।’”
  • पृ ८४ को “शुभचिन्तकहरू” कथा
  • पृ ९१ – “भन्छन् मकै पिस्ता घुन पिसिन्छ, तर नेपालमा मकै होइन घानका घान जनतारुपी घुन पिसिन्छन् र ती घुन पिसिँदा पिसिनु पर्ने मकैका गेडा पनि आक्कलझुक्कल पिसिन्छन्। नेपालमा त्यो भुमरी ल्याउने, त्यो जाँतोको घुमाउने हातो भने विदेशको हातमा छ।”
  • पृ ९१ – “आधुनिक गैससवाला सरकार र नेताहरू जस्तै मौरी हो। उसको डलर मह हो। जहाँ डलर हुन्छ त्यहाँ सरकार र नेता सँगसँगै गैससवाला पनि हुन्छ। त्यो डलर, त्यो मह देशको लागि रसादि हो कि विषादि – सरकार, नेता र गैससवालाले छ्यान विछ्यान गर्दैनन्। उनिहरूलाई तत्काल गुलियो चाट्न पाए पुग्छ। डलर उनीहरूको स्वभाव हो। अथवा दाता दूध ख्वाउने र बीन बजाउने सपेरा हो र उनीहरू सपेराको दूधको बल र बीनको धुनमा नाच्ने विषको थैलो झिकिएका गोमन साँप हुन्”
  • पृ ९७ – “उनीहरूको विचार त्यस्तै हो जस्तो – दूध सुकेकी आमाको मासु खानु हुँदैन; त्यसैले तिनको सट्टा मासु खान हुने बूढी बाख्रीको आर्थिक उपादेयता छ भन्नु।”
  • पृ १०६ – “अघिअघि पश्चिमाहरू कम विकसित विश्वमा पानी जहाज र घोडा चढेर आउँथे र तोपबाट गोलाहरू हानेर साम्राज्य विस्तार गर्थे। अबका पश्चिमाहरू हवाइ जहाज र एसयूभी गाडी चढेर आउँछन् र आइएनजीओबाट डलरका गोलाहरू हानेर साम्राज्य विस्तार गर्छन्। स्थानिय एनजीओहरू त आइएनजीओका ठेकदार वा एजेण्ट भए भए, सरकार र सबै क्षेत्र, लिङ्ग, जाति, वर्ग र पार्टीहरूका नेता र सम्भ्रान्तहरू पनि तिनका ठेकदार वा एजेण्ट भएका छन्।”
  • पृ १४८ – “यस अवधि(पाठको सन्दर्भ अनुसार २०४६-२०६४)मा नेतृत्वको तहमा बसेका ती सबै पापी र बदमास नेताहरू र त्यो प्रवृत्तिलाई निर्मूल, शब्दश: निर्मूल नपारेसम्म यो देश उँभो लाग्दैन।”
  • पृ १८३ – “तिनै फिरङ्गी माग्नेहरू (पाठको सन्दर्भमा लण्डनको चारिङ्ग क्रस र ऐम्बैङ्कमेण्ट सुरुङ्गे रेल स्टेशनका मगन्ते फिरङ्गीहरू) पनि नेपाल आए भने उनीहरूले उहिँबाट नेपालको भिसा लिएर आउनु पर्दैन। आफ्नै बाबुको बिर्तामा आको जस्तो गरी सुइँसुइँ आए हुन्छ। त्रिभुवन विमानस्थलमा तिनका लागि रातो गलैँचा ओछ्याइएको हुन्छ। ज्वाइँको जस्तो मान पाउँछन्। हामीले फिरङ्गगीका पाउमा नाङ्गेजार भएर दिएको जस्तो सामाजिक-आर्थिक पृष्ठभूमिको लाजमर्दो विवरण पनि पेस गर्नु पर्दैन। उनिहरू यो मुलुकमा जहिले र जसरी पसे पनि पस्तापस्तै उनीहरूका करकमलमा नेपालको भिसा हाजिर हुन्छ।”
  • पृ १०७ – मा उदृत श्लोक: “अमन्त्रम् अक्षरं नास्ति नास्ति मूलमनौषधम्। अयोग्य: पुरषो नास्ति योजकस्तत्र दुर्लभ:।। कुनै अक्षर त्यस्तो छैन जो मन्त्र नहोस्, कुनै जरो त्यस्तो छैन जो औषधि नहोस्। कुनै पुरुष त्यस्तो छैन जो योग्य नहोस्। योजक मात्र दुर्लभ छ।”

लेखकका कुनै ठाउँमा लेखेका यी कुराहरू अन्य कतिपय ठाउँमा बाझिएका पनि छन् तर यो कृतिमा मात्र आधारित भएर हेर्दा मैले घिमिरेलाई एक स्वाभिमानी लेखक, विकासे कार्यकर्ता, चिन्तक र सामाजिक नेताका रुपमा पाएँ। उनले यस पुस्तकमा उनले आफै खोलेको तामाकोशी सेवा समिति, मन्थली र रामेछापको धेरै नै वर्णन गरेका छन् तथा क्यान्सर रोगको किमो उपचार पद्धतिले पनि ठुलै ठाउँ पाएको छ। हुन त यो उनको आत्मालाप भएकाले उनलाई र उनले प्रभाव पारेका कुराहरूले प्राथमिकता पाउनु कुनै नौलो कुरा होईन।

छ महिनामा सातौँ सँस्करण निस्कनुले यो कृतिले ठूलै लोकप्रियता पाएको देखिन्छ। यो आत्मालाप राम्रो छ, तर मैले यस कृतिको बारेमा पढेका, सुनेका वर्णनहरूले जगाएको आशा अलि बढी नै थियो। कृतिले यत्रो सफलता पाउनुमा कृतिको आफ्नो हात त छैँदैछ तर लेखकको कृति लेख्दाको अवस्था (निको नहुने रगतको क्यान्सरबाट पीडित) र उनको पहुँचवालाहरूसँगको चिनजानले पनि ठूलै भुमिका खेलेको जस्तो लाग्यो।

केहि थप कुरा:
मैले माथिको कुरा लेखेर ब्लगमा राखेपछि यो थप कुरा लेख्न शुरु गर्दासम्म बिबेक, कुमार, ज्वलन्तअङ्कुरले प्रतिक्रिया लेखिसकेका छन्। ती प्रतिक्रियाहरू हेरिसकेपछी फेरि केहि कुरा थप्न मन लाग्यो। प्रति-प्रतिक्रिया लेखेको भए पनि हुन्थ्यो तर माथि नै थप्न मिल्थ्यो तलका कुरा थपेँ।

प्रा डा गोविन्दराज भट्टराईले १४ पृष्ठ लामो भूमिकामा लेखेका छन्: “अन्तर्मनको यात्रा लेखकको विशेष मनोदशाले उत्पन्न भएको कृति हो। मृत्युको पार्श्वछायाँसँग जम्काभेट नभएको भए यो लेखिने थिएन।” त्यसै कारणले पनि होला लेखकले यसमा कुनै न कुनै रुपमा जीवन-दर्शन र जीवनयापनलाई विश्लेषण गर्ने प्रयास गरेका छन्।  विश्लेषकहरूलाई पनि त्यहि संवेदनशिलताले प्रभावित पारेर हो कि के हो, यस कृतिले स्थान तथा चर्चा चाहिँ आवश्यकता भन्दा अलिकति बढी नै पाएको जस्तो लाग्यो।

पीटर कार्थक, नरहरि आचार्य लगायत अन्य पाठकहरूले भनेझैँ घिमिरेले यो आत्मालाप लेखेर नेपाली साहित्यमा एउटा नयाँ बिधाको शुरुवात गरेका छन्। यो लेखकको व्यक्तिगत अलाप भएपनि यसले उनको जीवनकालको नेपालको एउटा चित्र पनि सँगै बोकेको छ। त्यसैले घिमिरेको यो लगभग अढाई सय पृष्ठ लामो आत्मालाप पनि नेपाल, नेपाली साहित्य, जीवनशैली, सामाजिक सेवा र वर्तमान राजनीतिमा चासो राख्नेहरूका लागि पठनीय छ।